मंगलबार राति अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।
बेपत्ता भएका १८ वर्षीया रमेश साउदको शव शनिबार बिहान ११ फेला परेको प्रहरीले जनाएको छ।
उनको शव घटनास्थलबाट २ किलोमिटर टाढा गाउँपालिककै वडा नम्बर ४ र ५ जोड्ने सीमानाको कैलाश खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।
मंगलबार राति आएको बाढीले अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनीबजार बगाएपछि १७ जना बगेका थिए।
तीमध्ये सात जनाको शव फेला परेको छ। मृत्यु हुनेमा स्थानीय ५४ वर्षीय चन्द्र बहादुर साउद, ३५ वर्षीया गौरी शाह, ४६ वर्षीया लाल्सरा शाह, २२ वर्षीया बबिता बुढा साउद, ४५ वर्षका अमर शाह, १२ वर्षका नविन शाह र १८ वर्षका रमेश साउद छन्।
१० जना अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूको टोलीले खोजी कार्य गरिरहेको छ।
खोलामा पानीको मात्रा निकै बढेकाले खोजी कार्य कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। बाढीले बगाएर विस्थापित भएका २२ परिवारमध्ये तीन नजिकैको विद्यालयमा बसिरहेका छन्। उक्त बाढी प्रभावित क्षेत्रको गृहमन्त्री रामबहादुर थापासहित प्रदेशका मन्त्री र सांसदले निरीक्षण गरी फर्केका छन्। सेतोपाटी बाट साभार
कमेन्ट गर्नुहोस्