Monday October 26, 2020  |    | 

मुलुकका विभिन्न स्थानमा रगतको अभाव, रक्तदानको लागि अनुरोध

Pugchha - 2020 Aug 22 11:53 PM
IMG

भदौ । देशका विभिन्न स्थानमा रहेका विरामीलाई रगत अभाव भइरहेको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवा लगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा अत्यन्तै न्यून सँख्यामा रगत स्टक रहेको जानकारी गराइएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार आज शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन् । उनका अनुसार विहीबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेका थिए । जसको कारण ६४ पिन्ट रगत जम्मा गर्न सकिएको तर, थप ६१ जना रित्तोहात फर्किनुपरेको थियो । 

त्यस्तै, हिजो शुक्रबार २६ जनालाई फर्कउनुपरेको थियो । दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर, पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रमा मात्र नभइ धरान, विराटनगर, चितवनलगायतका स्थानमा पनि रगत अभाव भइरहेकोे नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । उनले भने, ‘उक्त क्षेत्रका अधिकांश भागमा निशेधाज्ञा छ र वरिपरिका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति रहेको छैन । तर, नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको छ ।’

रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्तसंकलन गरेपनि विगत १३ देखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको छ ।

तर, स्थानीय प्रशासन र पालिकाको सहमति लिई आज शनिवार विहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरिसकेका र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिए ।

रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए ।  न्युज टवान्टी फोर नेपालबाट साभार

कमेन्ट गर्नुहोस्