Saturday October 24, 2020  |    | 

अस्ट्रेलियामा माइतीको आँगन !

Pugchha - 2020 Aug 23 12:05 AM
IMG

विगत एक महिनादेखि हरेक दिन मेरो फेसबुक मेमोरीमा अस्ट्रेलियामा नेपाली महिला दिदी बहिनीहरुले अघिल्ला वर्षहरुमा आयोजना गरेका तीजका जमघटका तस्बीर ओहोर-दोहर गर्ने गरेका छन् । तीमध्ये मेरो फेसबुक मेमोरीलाई मस्तिस्कको मेमोरीमा अझ ताजा बनाउने तस्बीरहरु हुन् – नारी निकुन्ज अष्ट्रेलियाले आयोजना गरेका तीजसँग सम्बन्धित कार्यक्रमका तस्बीरहरु ।

गैरआवासीय नेपाली संघ अन्तर्गत विश्वव्यापीरुपमा महिलाहरुलाई संगठित गर्न बनेको नारी निकुन्जको स्थापना पहिलोपटक २००९ मा भएको हो । यो निर्माण गर्ने योजना पनि अस्ट्रेलियाबाट नै प्रस्ताव गरिएको थियो र सोही बर्ष नै नारी निकुन्ज अस्ट्रेलियाको निर्माण भएको थियो । पहिले म स्वयंसेवक र एक सञ्चारकर्मीका रुपमा नारी निकुन्ज अस्ट्रेलियाका गतिविधिमा सहभागी हुने गरें ।

प्रवासमा माइतीको आगन

सन् २००७ मा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया छिरेपछि विद्यार्थी जीवनका उतार चढावसँग अव्यस्त भइयो । सायद त्यसैलाई संघर्ष भनिन्छ क्यारे । एकपछि अर्को संघर्षका हरेक पलहरुसँग कुस्ती खेल्ने क्रममा कहिले हो तीज र कहिले हो दसैं तिहार आए-गएको थाहै नहुने अवस्थामा पुगेका थियौं ।

सम्झना ताजै छ – सन् २०१०मा सुमित्रा विष्ट दिदीले तीजको टिकट राखिदिएकी छु है तिम्रो लागि आउनुपर्छ भन्दा मेरो खुशीको सीमा हराएको थियो । सिड्नीको भित्री पश्चिमी सहर अस्फिल्डमा भएको त्यो कार्यक्रम निकै भब्य र सभ्य थियो । नेपालका मेची काली, हिमाल पहाड तराईबाट सिड्नी ओर्लेका र यहाको विभिन्न बस्तीमा छरिएका हामी धेरै दिदी बहिनी भेला भएका थियौं ।

हरेक दिदी बहिनी आफ्नै जस्तो । आफ्नैजस्तो मात्रै होइन, आफ्नै थियौं, एउटी आमाका । हो नि नेपाल आमाका । दिदी बहिनीहरु जुटेर तीजको गीतमा छमछमी नाच्दा म धेरैपटक मेरो सिरुबारी पुगेकी थिएँ, जहाँ मैले बाल्यकाल बिताएँ । मेरो माइतीको आँगन सिरुबारी । अस्फिल्डको कार्यक्रम पनि प्रवासमा भेटिएको माइतीको आँगनजस्तै भयो ।

दिदी बहिनीहरु मिलेर “बाटो र पुल बर्षाले लयो… आउने र जाने बन्द भयो” भन्दै गाउँदै नाच्दै गरेको त्यो दृश्यले त्यतिबेला मेरो सिरुबारी आँखाभरि घिमीरह्यो र अहिले फेसबुकले सम्झाइरहँदा मस्तिस्कभरि प्रवासमा भेटिएको त्यो अस्फिल्डको माइतीको आँगन झल्झली सम्झना भयो ।

नारी निकुन्ज हाम्रो माइतीको आँगन हो । यो बर्ष महामारीले हामीलाई जुट्न दिने छैन । तर, सम्झनाहरु भने पुनर्ताजगी भैरहने छन् ।

“लेडिज ओन्ली’ तीज

बिहे गरेर गएका चेलीहरु तीजमा माइत आई मिठो मिठो दर खाँदै आफ्न मनका पीडा सामुहिक गीत संगीत मार्फत पोख्ने एउटा परम्परा नै कालान्तरमा एउटा राम्रो संस्कृति भयो । जतिबेला महिलाका आवाज दबाइएका हुन्थे, बिरह कतै पोख्ने ठाउँ हुँदैनथ्यो, त्यतिबेला गीत संगीतको माध्यमले तीज कुरेर आफ्नो बह पोख्ने गर्दथे । ती गीत सुनेर नै त्यो बेलाका चेलीको जीवन कस्तो थियो, अनुमान पनि गर्न सकिन्थ्यो ।

विसङति कुरीति अनि अन्धविश्वास विरुद्द जेहाद नै छेड्ने गर्थे तीजका गीतहरुले । समयसँगै तीजका गीतहरु पनि परिवर्तन भए । तीज मनाइने तरिका पनि परिवर्तन भयो । यो महिला, पुरुष सबैको जस्तो भयो र संगीत सृजना गर्ने राम्रो व्यवसाय पनि भयो । यसले संगीतको क्षेत्रमा पनि प्रगति भयो र समाजमा लाएको खाएको देखाउने फेसन पनि भयो ।

तर, नारी निकुन्ज अष्ट्रेलियालाई तीजका धेरै परिवर्तनले छोएन । हामीलाई के थाहा भयो भने प्रवासमा पनि स्वदेशको जस्तै तीजमा हाम्रा दिदी बहिनीहरुलाई एकदिन भए पनि स्वतन्त्रतापूर्वक माइतीको आँगनमा जस्तै नाच्न गाउँन मन छ । किनकि आफ्नो श्रीमानका अगाडि धक मान्ने दिदीबहिनीहरु साथीसंगी र दिदी बहिनीहरुका वीचमा दिल खोलेर छमछमी नाचेको र निस्फीक्री गाएको देख्यौं ।

त्यस्ता दिदी बहिनीहरुको मनोविज्ञानलाई सम्मान गर्दै नारी निकुन्ज अष्ट्रेलियाले आफ्नो तीज कार्यक्रममै नयाँ योजना ल्यायौं । त्यो नयाँ योजना र कार्यक्रम थियो “लेडिज ओन्ली’ तीज । अर्थात महिलाहरुका लागि मात्रै तीज । अहिलेको सामाजिक परिस्थितिमा दुनियाँको जुन टापुमा गए पनि महिलाका जिम्मेवारीमा फरक आएको छैन । अस्ट्रेलियामा पनि यो सत्य हो कि महिलाहरुले नै बढी संघर्ष र जिम्मेवारी लिएका छन् ।

तीजको अवसर मानेरै सही, यो कुरा अझ प्रष्ट भन्दा सायद पचाउन सजिलो होला कि अस्ट्रेलियामा नेपाली महिलाले आफ्ना पुरुष सहकर्मी भन्दा बढी संघर्ष र जिम्मेवारी लिएका छन् । गौरबको कुरा पनि हो कि यहाँ आर्थिक जिम्मेवारी पनि महिलाले सफलतापूर्वक निभाएका छन् । मलाई के थाहा छ भने केही पुरुष साथीहरुलाई सप्ताहान्तमा टाईसुट लगाएर टाउन हलतिर हल्लिन तिनका महिला साथीहरुले गर्ने कडा श्रमको आर्जनले साथ दिएको छ ।

हामीले “महिला मात्रको” तीजलाई निरन्तरता दियौं । एक त तीज महिलाहरुको मात्रै चाड हो, अर्को घरपरिवार, श्रीमानको जिम्मेबारीबाट एक्कै छिन विश्राम लिएर नाच्दा अनि गाउँदा महिलाहरुको मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको हामी कमै विश्लेशण गर्छौं । काम परिवार अनि जिम्मेवारीको भागदौडमा कहिलेकाहीँ जब आफैंलाई भुलिन्छ, त्यतिबेला “मी टाइम” छुट्याउन जरुरी हुन्छ । यो महिला वा पुरुष दुबैको हकमा लागु हुन्छ ।

बर्ष दिनको तीज हामी महिलालाई “मि टाइम” को आवश्यकता बोध गराउने पर्ब हो । दिमाग स्वास्थ्य राख्नका लागि रिचार्ज गर्नुपर्ने हुन्छ । सामाजिक संरचनाका कारण पनि महिला यसमा पछि परेको देखिन्छ ।

जब प्रवाशको तीज परोपकारतिर जोडियो

तीजमा नाच्ने, गाउने, रमाइलो गर्ने सँगसँगै मातृभूमिमा रहेका दिदी बहिनीहरुको घाउमा मल्हम लाउने उद्देश्यले तीजमा परोकार जोडियो। तीजमा उठेको रकमले नेपालमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाहरुको सर्जरी गरिदिने काममा पठायौं । हाम्रो सहयोगले नेपालमा थोरै भए पनि केही राहत भयो । यसमा नारी निकुन्ज अस्ट्रेलियाका सबै सदस्य हामी गौरवान्वित छौं ।

हामी महिलाहरु अस्ट्रेलियामा आर्थिकरुपमा स्वायत्त र सम्भव भएसम्म स्वाभिमानी हुने क्रममा छौं । तर, नेपालमा हाम्रै दिदी बहिनीहरुको जीवनस्तर सुधारका लागि केही गर्नुपर्ने थियो, त्यसका लागि हामीले लघु वित्तीय कर्जा प्रवाह गर्ने काम गर्यौं ।

भूकम्प हाम्रो चुनौती भएर आयो । दिदीबहिनीहरुले मातृभूमिमा परेको विपतको गीत गाउँदै भूकम्पले ढलेको स्कुल बनायौं ।

नारी निकुन्ज अष्ट्रेलियाले गर्ने सानादेखि मझौला बजेटका यस्ताखालका कार्यक्रमले रमाइलो अनि परोपकार दुबै हुने हुँदा नारी निकुन्जको तीज कार्यक्रम सदैव हाउसफूल हुने गर्दथ्यो । नारी निकुन्जको परिकल्पना र निर्माणको श्रेय अस्ट्रेलियामा हाम्रा आदरणीय दिदीहरु इन्द्रा बन, रन्जु वाग्ले, जानकी पौडेललाई जान्छ भने परोपकारी तीजकी परिकल्पनाकार तत्कालीन नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक बबिता श्रेष्ठ र त्योबेलाको उहाँको टिमलाई जान्छ।

समुदायसँग हात र साथ

अष्ट्रेलियामा नेपाली समुदायको उपस्थितिसँगै सामुदायिक आवश्यकता पनि बढ्दै गयो । “महिलाका लागि महिला” नारा दिएर स्थापना गरिएको नारी निकुन्ज महिला सशक्तीकरण अनि प्रवासमा महिलालाई माइतीको आँगनी दिने यात्रामै थियो । थुप्रै दिदीबहिनीहरु आफ्ना समस्या लिएर नारी निकुन्जको ढोका ढकढक गर्न आउनुभयो । जति संख्या बढ्दै थियो, त्यति हाम्रो समुदायको समस्या छर्लङ्ग हुँदै थियो ।

सन् २०१३ मा घरेलु हिंसा, मानसिक रोगसम्बन्धी जनचेतना जगाउने अभिप्रायका साथ अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा नारी निकुन्ज अस्ट्रेलियाले एउटा कार्यक्रम गर्‍यो । समुदायमा घरेलु हिंसालाई ‘घरको वा श्रीमान-श्रीमतीको निजी मामिला’ अनि मानसिक समस्यालाई ‘पागल’ भएको संज्ञा दिनेहरुको बाहुल्य थियो ।

उसो त हाम्रो टिमभित्रै पनि धेरैलाई घरेलु हिंसा वा मानसिक स्वास्थ्यबारे निकै कम जानकारी थियो । समाजको बुझाइमा एकरुपता नभएको र आफ्नै टिमभित्र मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति नहुनु हाम्रो अभियानको चुनौती थियो । तथापि विभिन्न चरणका जनचेतनामूलक कार्यक्रम गर्न नारी निकुन्ज अस्ट्रेलिया सफल भएको थियो ।

नारी निकुन्जको बर्तमान नेतृत्वले हाम्रा अघिल्ला कतिपय योजनालाई निरन्तरता दिँदै अझै उर्जाकासाथ नयाँ योजनाहरु पनि लागु गरेको देख्दा पछिल्लो नेतृत्वको टिमप्रति गर्व छ । र, सुभकामना पनि छ यो तीजको अवसरमा ।

तर, यो बर्ष छमछम नाच्न पाइने छैन तीजमा । विश्वमा जारी महामारीले हाम्रो तीजलाई प्रभावित पारेको छ । सँगसँगै यो महामारीलाई जित्ने गरी यस्तै बेलामा हुन सक्ने घरेलु हिंसाबारे पनि सबै सचेत हुन आवश्यक छ । आउनुहोस् दिदीबहिनीहरु, अहिले सामाजिक दुरी कायम राखेरै मनको दुरी घटाउँ । अनलाइन खबरबाट साभार

कमेन्ट गर्नुहोस्