Saturday October 31, 2020  |    | 

मन्दिरको जिर्णोद्वार गरिने

Pugchha - 2020 Aug 29 09:17 AM
IMG

पुरातात्विक महत्व बोकेका बागलुङ जिल्लाका तीन मन्दिरको जिर्णोद्वार गरिने भएको छ । पुरातत्व विभागले बागलुङ नगरपालिकाभित्र रहेको संसारकोट, भैरव स्थान मन्दिर र गणेश मन्दिर जिर्णोद्वार गर्ने भएको छ । बागलुङ नगरपालिकाभित्र रहेका तीन मन्दिर निकै पुराना भएका कारण जिर्णोद्वार गर्न पुरातत्व विभागले आव २०७७÷७८ मा बजेट विनियोजन गरी कार्यदेश प्रदान गरेको छ ।

बागलुङ नगरपालिका–१२ स्थित भैरवस्थान मन्दिर र कोतघर, बागलुङ नगरपालिका–३ सुल्डाँडास्थित गणेश मन्दिरको जिर्णोद्वार र बागलुङ नगरपालिका–७ स्थित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको संसारकोट दरबार क्षेत्रको पुनःनिर्माण गर्नका लागि बजेट र कार्यदेश प्राप्त भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए। “संसारकोटको विस्तृत अध्ययन प्रतिवेदनसहित पुनःनिर्माणको कार्य थालनी गरिनेछ”, प्रमुख पौडेलले भन्नुभयो, “बागलुङमा विभागको नयाँ कार्यक्रम हो, को मार्फत बजेट आउने भन्ने जानकारी आइसकेको छैन, भैरवस्थान र गणेशथानको पूँजीगत सुधारतर्फ बजेट आएको हो ।” नगरप्रमुख पौडेलका अनुसार जिर्णोद्वार विभागले नै गर्ने वा स्थानीय तहलाई दिने भन्ने टुङ्गो नलागेको बताउनुभयो ।

विभागका अनुसार संसार कोट र भैरवस्थान मन्दिरलाई यो आवमा रु ३०/३० लाख र गणेशथान मन्दिरलाई १० लाख बजेट विनियोजन भएको छ ।संसारकोट पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएपनि भौतिक संरचनाको अभावमा समस्या भइरहेको छ । नगरपालिकाले संसारकोट पुग्नलाई पर्यटकीय पदमार्ग निर्माण गर्दै आएको छ । भैरवस्थान मन्दिरसमेत लामो समयदेखि जिर्णोदार गर्न पञ्चवर्षीय योजना निर्माण गरेपनि अलपत्र छ । मन्दिर निकै पुरानो भएका कारण जिर्णोद्वारको आवश्यकता छ ।

साउन ४ को निर्णयअनुसार बागलुङका दुई मन्दिरको जीर्णोद्वार र संसारकोटको पुनःनिर्माण गरिने पुरातत्व विभागका सविता न्यौपानेले जानकारी दिए । विभागले जिर्णोद्वारको अवस्था र प्रगति हेरी आगामी वर्ष थप बजेट विनियोजन गर्न सक्नेछ ।  लोक पथबाट साभार

कमेन्ट गर्नुहोस्