Saturday October 24, 2020  |    | 

यसरी गरौं पठनपाठन

Pugchha - 2020 Oct 10 02:05 PM
IMG

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ भदौ १९ गते जारी गरेको छ। निर्देशिकाको दफा ३३ को २ मा यस निर्देशिकामा अन्यत्र जुनसुकै लेखिएको भए पनि कुनै क्षेत्रविशेषमा नियमित विद्यालय सञ्चालन हुनसक्ने अवस्था भएमा प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने अधिकार दिएको छ। संक्रमण कम भएका ठाउँमा विद्यालय पूर्ववत् ढंगमै सञ्चालन गर्नसमेत सकिने भएको छ।

असोज १ गतेबाट कुनै न कुनै विधिबाट विद्यालयले पठनपाठन सञ्चालन गर्नैपर्ने व्यवस्था यो निर्देशिकाले गरेको हो। साथै उक्त निर्देशिकाको दफा ३५ को २ मा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम भएगरेका कामकारबाही यस निर्देशिकाबमोजिम भए गरेको मानिनेछ भन्ने व्यवस्था छ। त्यही व्यवस्थालाई मूल आधार मानी विद्यालयले सिकाइ सहजीकरण कार्ययोजना तयार गर्नुपर्ने हुन्छ। यसले विद्यार्थीले वैकल्पिक माध्यमबाट हासिल गरेका पूर्वज्ञान, सीप र क्षमताको मापन गर्दै अबको शैक्षिक गतिविधिलाई दिशानिर्देश गर्ने रोडम्याप तयार गर्नुपर्छ। निर्देशिकाको दफा १० मा रहेको १, २ र ३ बुँदामा उल्लिखित विद्यालयले निर्माण गरेको पाठ्यवस्तु समायोजन ढाँचामा स्थानीय शिक्षा शाखाको समन्वयमा विद्यालय आफंैले निर्माण गर्न सक्नुपर्नेछ। उक्त आधारमा रही पाठ्यवस्तु समायोजन गर्न सकिने व्यवस्था छ।

अर्कातर्फ, आगामी मंसिरमा एउटा परीक्षा र चैतमा अन्तिम परीक्षा लिनुपर्ने निर्णयसमेत आइसकेको छ। पाठ्यक्रम विकास केन्द्रले समायोजित पाठ्यवस्तुसमेत सार्वजनिक गरिसकेको छ। यो सन्दर्भले अहिले सबैको ध्यान विद्यालयको पठनपाठनतिर केन्द्रित छ। एकथरी मान्छे यो शैक्षिक सत्र नै खारेज नगरेर मन्त्रालयले गल्ती गरेको आरोप लगाउँदैछन् भने अर्काथरी सम्पूर्ण जिम्मेवारी प्रदेश तथा स्थानीय तहलाई दिएर केन्द्र हाइसञ्चो मानेर बसेको, जिम्मेवारी बोध नलिएको भनी टिप्पणी गरिरहेका छन्। यसै प्रसंगमा केही शिक्षकले सामाजिक सञ्जाललगायत अन्य छलफलका सन्दर्भमा ‘यो निर्देशिका कोरोना भिœयाउने खेल हो, त्यसको जिम्मेवारी कसले लिन्छ ? यसरी हँुदैन, सकिँदैन, गाह्रो छ भन्ने गरेको पनि सुनिएको छ। त्यति मात्र होइन, रेडियोमा पढाएर हुन्छ; कहाँ अहिलेको जमानामा रेडियो सुन्छन् विद्यार्थीले पढ्दैनन् ? अनलाइनमा कसैको पहुँचै छैन अनि कसरी हुन्छ ? के रेडियो वा अन्य वैकल्पिक माध्यमबारेमा हामीले वैज्ञानिक ढंगले सोचेका छौं ? केही अपवादबाहेक छैनौं। यसरी देखिएका÷जबर्जस्ती देखाइएका नकरात्मक चरित्रले हामी कहाँ पुग्छौं ? एकपटक सोच्ने कि ?

तर यही भीडमा गर्नुपर्छ, सकिन्छ, रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन जुन विधि वा प्रक्रियाबाट हुन्छ; त्यसैगरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ भनेर कार्ययोजना निर्माणमा जुटिरहेको शैक्षिक सरोकारवालाको जमात पनि ठूलै छ। यहाँ प्रश्न जागिरको मात्र होइन, क्षमता अभिवृद्धिको हो। पेसागत विकासको हो। नैतिकताको हो। समस्याको चाङमा परेर पनि आफ्नो गन्तव्यको बाटो पहिल्याउन सक्नुचाहिँ महानता हो। यो हाम्रा लागि सकारात्मक सुरुवातको संकेत हो।

त्यसैले म त भन्छु– यो समय सिर्जनशीलताको हो। विचार निर्माणको हो। अवसर खोजीको हो। विकल्पको विनिमयको हो नकि आलोचना, आरोप, र अतिरञ्जनाको। नीति तथा निर्देशिका ल्याउने काम मन्त्रालयको हो, ढिलै भए पनि ल्याएकै छ। तर अध्यापन गराउने काम त शिक्षकको हो। शिक्षक तयार छन् कि छैनन् ? डराएका छन् कि छैनन् ? विद्यालयमै आएर पढाउन तयार छन् वा छैनन् ? कुन विधि वा पद्धतिमा रहेर पढाउन तयार छन् ? आफ्ना छोराछोरीलाई यो अवस्थामा विद्यालय पठाउन अभिभावक राजी छन् कि छैनन् ? र विद्यार्थी कसरी पढ्न चाहन्छन् ? कि त्रास, भयमा छन् ? कुन माध्यमबाट पढ्दा वा पढाउँदा सबैको मनोविज्ञानमा सकारात्मक छाप पर्छ। यो पहिचान गरेर मात्र शिक्षण सिकाइ क्रियाकलापका प्रक्रिया, ढाँचा र विधि निर्माण गर्नु पहिलो काम हो। जसलाई जेमा सहज र डर, त्रास हुँदैन त्यही विधि निर्माण गरी पठनपाठनको मूल बाटो खोल्नुपर्छ।

दोस्रो विकल्प, विद्यालयमा कुन माध्यमबाट अध्ययन–अध्यापनको बाटो तय गर्ने हो सोको यकिन गर्नुपर्छ। तेस्रो, गाउँघरमा, टोलटोलमा, समुदाय स्तरमा कोरोनाको वास्तविक विवरण सामग्री मात्र सम्पे्रषणको सुनिश्चितता हुने गरी जनचेतनामूलक कार्यक्रम लिएर घरदैलो गर्नुपर्छ। अझै पनि मास्क गोजीमा बोकेर हिँड्ने, बोल्दा मास्क खोल्ने मानिसको जमात छँदैछ। बालबालिकालाई स्वास्थ्य सावधानीका उपायबारेमा प्रत्यक्ष भेटेर वा विभिन्न लिखित–अलिखित सामग्रीबाट सुझाऔं। अभिभावकलाई तयार पारौं। त्यसका लागि शिक्षकको नेतृत्व तथा अभिभावकको समन्वयमा टोलमा समूह–समूह गठन गरी पर्चा, पमप्लेट, ब्रोसरलगायतका सामग्री निर्माण गरी विद्यालय तथा स्थानीय तहमार्फत वितरणको व्यवस्था गर्नुपर्छ।

चौथो, शिक्षण सिकाइ प्रक्रियामा सामेल हुने सबैलाई आफ्नो मनोविज्ञानमा सकारात्मकता निर्माण गर्नु पहिलो प्राथमिकतामा पर्ने कार्य हो। सावधानी अपनाउँदा सुरक्षित हुन सक्छौं भन्ने तवरले परामर्श गर्नु उत्तम विकल्प हो। सम्भव भएमा विद्यालयमा एकजना स्वास्थ्यकर्मीलाई परामर्शदाताका रूपमा राख्नु शिक्षण सिकाइमा थप ऊर्जा र टेवा पुर्‍याउनु हो।

 त्यसबाहेक पाठ्यक्रमका आधारमा कक्षागत वर्क सिट निर्माण गरी आवश्यकीय न्यूनतम विषयवस्तुको मात्र पठनपाठन गराउनुपर्छ। विद्यार्थीलाई विभिन्न किसिमका प्रोजेक्ट वर्कमार्फत उनीहरूका सिकाइ दिगो बनाउन सकिन्छ। विद्यार्थीको व्यक्तिगत अभिलेखका लागि पोर्टफोलियो निर्माण गर्नुपर्छ। शिक्षणको विधिमा व्यापक सुधार ल्याउनुपर्छ। शिक्षकको प्रस्तुति रचनात्मक र कलात्मक हुन जरुरी छ। तर के आजका हामी शिक्षक विद्यालय जानुअघि आफूले पढाउने पाठको तयारी गर्नुहुन्छ ? के आजका शिक्षक साँच्चिकै सिर्जनात्मक छन् त ? घरको कामलाई फुलटाइम र शिक्षणलाई पार्टटाइम बनाउने शिक्षक पनि हामी नै होइनौं र ? किताबका पाठ पढेर विद्यार्थीलाई सुनाउँदैमा शिक्षण भयो भन्ने बुझाइ अहिल्यै त्यागौं। आफ्नो शिक्षणमा अडियो, भिडियोलगायत मल्टिमिडिया प्रयोग गरौं। अरू केही नभएमा आफूसँग भएको मोबाइल फोन प्रयोगमा ल्याऔं। अन्न्पुर्ण पोष्ट बाट साभार

कमेन्ट गर्नुहोस्