Tuesday May 18, 2021  |    | 

सहरमा अनलाइन शिक्षा दूरदराजमा अफलाइन

Pugchha - 2020 Oct 23 07:54 AM
IMG

मुलुकको राजधानी सहर काठमाडौंका विद्यार्थीले ‘जुम’ लगायत सफ्टवेयरमार्फत अनलाइन शिक्षा लिइरहँदा ‘अफलाइन’ अवस्थामा रहेका दूरदराजका विद्यार्थी ज्ञानको ज्योतिबाट टाढिँदैछन्। सहरमा विद्यार्थीका हातमा मोबाइल र कानमा एयरफोन सामान्य लाग्छन्। गाउँतिरका विद्यार्थीमा भने औंलामा गुच्चा र निधारमा धुलो टाँसिएको देखिने हुँदा उनीहरूको भविष्य अन्योलमय छ भन्ने स्पष्ट हुन्छ। ‘नपढेको कति भयो कति ?’ धनौजी गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ४ का भरत यादवले कक्षाकोठाको झ्यालबाट चिहाउँदै भने, ‘कहिले पढाइ हुन्छ, त्यो पनि थाहा छैन।’ रित्तो कोठाको धुले भुइँमा खेल्दै गरेका उनले ‘अनलाइन क्लास’ बारे केही थाहा नपाएको बताए। 

‘विद्यार्थीका घरमा कुरै छाडौं, विद्यालयमै इन्टरनेट सुविधा छैन,’ प्रधानाध्यापक रामनारायण मण्डलले भने, ‘यस्तो अवस्थामा अनलाइन कक्षाको कल्पना पनि गर्न सकिएको छैन।’ सानो प्रोजेक्टर अभावमा टोल–टोलमा गएर शिक्षा दिने सोचसमेत पूरा हुन नसकेको उनले बताए। ‘बरु वडा कार्यालयमा इन्टरनेट सुविधा छ,’ उनले भने, ‘विद्यालयमा नभएकाले अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको उनले बताए।

समस्या यो विद्यालयमा मात्र होइन, धनौजी–५ भरि नै यस्तै छ। केटाकेटी आँगनको धुलोमा गुच्चा खेल्दै गरेको दृश्यले अविभावकको मनसमेत कुँडिने गरेको छ। ‘नानीहरूले नपढेको महिनौं भइसक्यो,’ धनौजी–२ कि बबितादेवी सदाले भनिन्, ‘उनीहरूले नपढ्दा हामीलाई पो दुःख लाग्छ।’ छोराछोरीलाई पढाएर सुखका दिन आउने आशा गरेकी बबितादेवीले निराशा थपिन थालेको बताइन्। ‘हाम्रा नानीहरू सधैं पछि पर्ने भए,’ मुसहर समुदायकी उनले भनिन्, ‘अब कहिले अगाडि बढ्ने हुन्, थाहा छैन।’

समस्या धनौजीको मात्र होइन, देशका अधिकांश ग्रामीण क्षेत्रको अवस्था उस्तै छ। भोजपुरस्थित हतुवागढी गाउँपालिका–९ जलपा प्राविका प्रधानाध्यापक देवेन्द्र घिमिरेले गाउँमा अहिलेसम्म बिजुली बत्तीसमेत नभएको बताए। ‘गाउँमा लाइन छैन, केको अनलाइन ?’ उनले भने, ‘लाइन मात्र भइदिएको भए केही उपाय लाग्थ्यो कि !’ गाउँमा टिभी र मोबाइलसमेत नरहेको अवस्थामा विद्यार्थीको शिक्षामा पहँुच निकै कम भएको उनको भनाइ छ।

नुवाकोटका विद्यालयहरूले अभावैअभावबीच केही प्रयास त गरेका छन्। नेत्रावती गाउँपालिका शिक्षा शाखा अधिकृत देवकी सिंखडा मोबाइल फोनमार्फत विद्यार्थीसम्म पुग्ने प्रयास गरिएको बताइन्। उनका अनुसार गाउँपालिकमा रहेका २३ विद्यालयका शिक्षकशिक्षिकाले मोबाइलमा १५ रूपैयाँको प्याक लिएर दिनभर पढाउन थालेका छन्। नेपाल टेलिकमले ल्याएको यो अफर उक्त नेटवर्क नटिप्ने ठाउँका विद्यार्थीका लागि भने लाभकारी नभएको उनले बताइन्। ‘केही प्रयास गरेका छौं,’ उनले भनिन्, ‘तर पर्याप्त हुन सकेको छैन।’

समाजका विद्यमान् विभेद हटाउन शिक्षा अपरिहार्य छ। तुलनात्मक रूपमा सहरमा भन्दा गाउँमा विभेद अलि झाँगिएको छ। यतिबेला त्यही शिक्षा प्राप्तिमा दूरदराजका विद्यार्थी वञ्चित छन्। सहरका बालबालिकाले पढ्दै गर्दा विभिन्न बहानामा दूरदराजका विद्यार्थी शिक्षाबाट वञ्चित बन्न पुगेका छन्। संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय युनिसेफ तथा सेभ द चिल्ड्रेनले अनलाइन शिक्षाले विद्यमान असमानता झनै बढाउने चेतावनी दिएको छ। गुणस्तरीय इन्टरनेटको सुविधा नभएका वा इन्टरनेटमा पहुँच नै नभएका ग्रामीण बालबालिकालाई यसले असुविधा भएको उसले जनाएको छ। त्यस्तै सरकारको अनलाइन या वैकल्पिक शिक्षा प्रणालीमा गरिबीको रेखामुनि रहेका परिवारका बालबालिका र विद्यार्थीको पहुँच पुग्न नसकेको भन्दै लकडाउनको केही समयपछि सर्वोच्चमा रिटसमेत परेको थियो।  

गरिब विद्यार्थीको हकमा आवश्यक पूर्वाधार, प्रविधिलगायत उपलब्ध माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो। तर त्यसतर्फ अहिलेसम्म प्रभावकारी कदम चालिएको छैन।शिक्षाविद् विद्यानाथ कोइराला हालको अवस्थामा जहाँ जसरी सकिन्छ, त्यसैगरी विद्यार्थीलाई ज्ञान दिनुपर्ने बताउँछन्। ‘जुम नै कुरेर बस्नुपर्छ भन्ने छैन,’ शिक्षकले कसरी विद्यार्थीसम्म पुग्न सकिन्छ, त्यो उपाय खोज्नुपर्छ। हुलाकीका माध्यमबाट होस् या अन्य माध्यमबाट, जताबाट भए पनि विद्यार्थीको नजिक पुगेर सिकाउने दायित्व शिक्षकको भएको उनको बुझाइ छ। ‘यो या त्यो बहानामा अब उम्कन मिल्दैन,’ उनले भने, ‘शिक्षकले आफ्ना विद्यार्थीलाई कसरी पढाउने हो त्यो गर्नु उसको दायित्व हो।’ अनलाइन, रेडियो, टिभी, पत्राचार वा अन्य हिसाबले विद्यार्थीकहाँ नपुग्दा लामो समय खेर गएको उनले बताए। ‘सहर र गाउँका विद्यार्थीमाझ देखा पर्न थालेको खाडल पुर्ने पहिलो दायित्व शिक्षकको हो,’ उनले भने, ‘नत्र यो खाल्डाले सिंगो समाजलाई पुर्नेछ।’ नागरिक खबरबाट साभार

कमेन्ट गर्नुहोस्